Hotel Online Book

दोलखा बाट सिंगटी बजार सम्मको यात्रा - तस्बिर सहित


सिंगटी बजार दोलखा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको छ। यो ठाउ दोलखाबाट करीब ३५ किलोमिटर कच्ची बाटोबाट बसको यात्रा गरेर करिब दुइ घन्टामा पुग्न सकिन्छ। सिंगटी, दोलखा जिल्लाका उत्तर पूर्वी क्षेत्रमा रहेका गाउहरुको ब्यापारिक केन्द्रको रूपमा पनि परिचित छ। जहाँ महिनामा २ चोटी ठूलो हाटबजार लाग्ने गर्छ। हाट बजारमा बिभिन्न ठाउँका ब्यापारीहरूले ठूलो मात्रामा कृषिका समानहरू ल्याउने गर्दछन। यस बेला ठूलो जनमानसको भिड लाग्ने गर्दछ। जुन बेला मालसमानहरू सस्तो हुने भएको हुनाले टाढा टाढा जस्तो ओराङ, बुलुङ, सुरी, खारे, बिगु, आलम्पु, खोपाचागु, लगायतका ठाउँबाट आउने ग्राहकहरूको संख्या धेरै हुन्छन्। सिजन अनुसारको फलफुल र तरकारीहरू जस्तै :आँप , केरा , नासपाती , आरु , आरुबखडा , सुन्तला , बनतरुल , घर तरुल , खुर्सानी , अदुवा, लसुन, गोल्भेडा, सागसब्जीहरू, छुर्पी , दुर्खा, अनी घरेलु मदिरा, चुयाको डोको, नाङ्लो, डालो, थुन्छे भकारी र स्थनीय खोलामा मारेको ताजा माछा आदी यहाँको बजारको मुख्य विशेषता हुन। प्रलाद आचार्यले खिच्नु भएको केहि तस्बिरहरु हेरौ .....

यो क्षेत्रमा तामाङ जातिको बाहुल्यता भएको कारण हाटबजारको दिन र अन्य दिन समेत प्रसस्त मात्रामा कृषि सामाग्रीहरुको बिक्री हुन्छ। तमाङ्नी दिदीबहिनीहरू बजारको दिन घरमा भएको फलफुल तरकारी बजारसम्म लगेर बिक्री गरि आर्जन गरेको पैसाले घराएसी समानहरू किनेर सिंगटीको उकालो चड्ने गर्छन्। अनि उकालो काट्दा जुहारी खेल्दै तरुना तन्नेरीहरू रमाइलो समेत गर्न चुक्दैनन। सिंगटीमा मोटर पुग्नु अघि पिखुतीमा बजार लाग्ने गर्थ्यो तर आजभोलि पिखुतीको ब्यापारीहरू सिंगटीमा प्रबेस गरेका छन्। पिखुतीलाई गुमुखोला भन्ने ब्यपारिक केन्द्रको नामले परापूर्वकाल देखि चिनिन्थ्यो जसरी आज सिंगटी प्रख्यात छ। त्यसरीनै केहींवर्ष अघिसम्म गुमुखोला बजार पनि प्रख्यात थियो।

चरिकोट बाट सिंगटी सम्मको यात्राका क्रममा पूर्वमा गौरीशंकर हिमाल अनि दक्षिणमा तामाकोसी पश्चिममा कलिन्चोकको थुम्को लगायत प्रकृतिका मनोरम दृश्यको आनन्द लिन सकिन्छ। यो ठाउँ पर्यटकहरूको लागि रमणीय स्थलको रूपमा परिचित रहिआएको छ। सिंगटीबाट दोलखाको रोल्वालिङ , छ्योरोल्पा हिमताल , गौरीशंकर हिमाल, गोगर, जगत लामाबगर हुँदै तिब्बतको नाका सम्म पुग्न सकिन्छ। यदि तिब्बतीय पर्यटकको आगमनलाई सरकारले व्यवस्थित गर्ने हो भने यो क्षेत्र अझ प्रख्यात र ब्यापारिक क्षत्रको रूपमा आगाडी बढ्न सक्ने कुरा सिंगटीवासिहरू बताउंछन।

यहाँ बसोबास गर्नेहरूमा सबैभन्दा बढी तामाङ, त्यसपछि क्षेत्री अनि केही शेर्पा, नेवार, कामी , दमाई, बाहुन, थामी, सार्की, घर्ती, मगर, सुरेल र जिरेल जातिहरू पर्दछन। स्मरण रहोस, सुरेल, जिरेल र थामी जाति दोलखा बाहेक अन्य जिल्लामा छैनन। त्यसैले यी तिन जातिलाई जिल्लाको विशेषता समेत मानिने गरिन्छ।

Comment from facebook

Computer Support House