प्राकृतिक सुन्दरतामा झ्याँकु - तस्बिर सहित


गौरीशंकर गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्दछ झ्याँकु । मोटरबाटो भएर मैनापोखरीबाट ३८ र भोर्लेबाट १६ किलोमिटरमा सजिलै पुग्न सकिन्छ ।  सिंगटी अनि गुमुखोलाबाट हाईकिङको रुपमा साढे एकदेखि २ घण्टामा पुग्न सकिन्छ । आदिवासी जनजातिहरुको बाहुल्यता रहेको झ्याँकुमा शेर्पा, तामाङ, जिरेल, नेवार र भुजेल बसोबास गर्ने गर्दछन् , 
 
 
दलितहरुको पनि उत्तिकै घना बस्ती रहेको छ । यहाँ सबै जातिको आआफ्नै रीतिरिवाज, संस्कृति रहेको छ । सबै चाडपर्व सबै जातिले मनाउने गर्दछन ।  देउसी भैलोको दिनमा यहाँका लामाहरुले सोइनामको रुपमा मनाउने गर्छन । जहाँ घरघरै गएर दक्षिणा संकलन गरेर सामाजिक कार्यमा खर्च गर्ने  गर्छन । 

घना बस्तीको रुपमा बासा, घटेपू, गोर्पाङ, यार्सा, तल्लोझ्याँकु, पुरानोगाउँ, सर्सेपू, साउने, डिकार्पू र सेराकाप्ती पर्दछ । यहाँबाट जिरी, मैनापोखरी, सिंगटी किनमेलको रुपमा जाने गर्छन । यहाँबाट विशेष गरी आलु, छुर्पी, घ्यू, चीज निर्यात गर्छन । फेदीमा लामो समयदेखि चीज फ्याक्ट्री सञ्चालनमा छ । त्यस्तै जडिबुटीको रुपमा चिराईतो, अल्लो, लोक्ता, मछिनोको तेल र काठ बढी मात्रमा निर्यात हुँदै आएको छ । व्यवसायिक रुपमा यहाँका शेर्पाहरुले चौरी पालन गर्दै आएका छन्  । 

 

 
झ्याँकुबाट गौरीशंकर हिमालको दृश्यअवलोकन फरक फरक ढंगले गर्न सकिन्छ । सूर्यदोयदेखि सूर्यअस्तसम्मको दृश्य मज्जाले हेर्न सकिन्छ । गौरीशंकरलाई नजिकैबाट नियाल्न सकिन्छ । गौरीशंकर हिमालको साथै अन्य हिमालहरु पनि प्रशस्तै देख्न सकिन्छ । अन्य ठाउँबाट भन्दा फरक ढंगले नियाल्नको लागि मानेडाँडा र आईतबारेथानडाँडा उपयुक्त छ । पर्यटकीय दृष्टिकोणले गुफा, गुम्बा, मठमन्दिर, झरना, विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु, गाउँबस्ती यहाँ रहेका छन् । तसर्थ प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले झ्याँकु धनी रहेको छ । 
 
 
यहाँबाट चेर्दुङ पुग्न सजिलो र भरपर्दो बाटो मानिन्छ । वर्षेनि यहाँबाट बाह्य पर्यटकहरु जिरी, चेर्दुङ हुँदै सिंगटी झर्दछन । जंगल सफारी अनि दोलखाको अधिकांश गाउँपालिका तथा वडाहरु यहाँबाट देखिने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको लागि झ्याँकु उपयुक्त मान्न सकिन्छ । दोलखाको अन्य गाउँको तुलनामा यहाँ प्रत्येक टोलमा गुम्बा, माने, चौतारा रहेको गाउँ मानिन्छ । धार्मिक हिसाबले बुद्धिष्टहरुले लहरेमाने बनाएको गाउँको रुपमा पनि चिन्न सकिन्छ ।
तामाङ जातिको पाख्रीन थरको उद्गम स्थल  झ्याँकुलाई मानिन्छ । आर्थिक, शैक्षिक तथा विकासको हिसाबले पछि परे तापनि राजनीतिक तथा सामाजिक हिसाबले अगाडिनै मानिन्छ । जिविस दोलखाको पूर्वसभापतिदेखि जिल्लातहसम्मका नेतृत्व हाँकेका राजनीतिक दलका व्यक्तिहरु छन् यहाँ । शब्द तस्बिरः जीवन लामा
 

 

 

 

 

 

 

 

 

Comment from facebook

Computer Support House