हेरिरहुँ जस्तो सोत्तलीडाँडा



खारे पुग्न टुनीटारबाट उकालो लाग्नुपर्छ । करिब ४५ मिनेटमा खारे कसेरीमा गाडीको यात्राबाट पुगिन्छ । बाक्लो बस्ती रहेको यस खारे कसेरीबाट हिमश्रृङ्खाको दृश्यअवलोकन गर्न सकिन्छ । यहाँबाट नाक ठोकिने उकालो हिड्नुपर्छ सोत्तलीडाँडा चुम्न । यो मौसममा दाँयाबाँया गुराँसले स्वागत गरिरहेको हुन्छ । एउटा डाँडा कटेपछि अर्को डाँडा हेर्न आँतुर हुन्छ यहाँको बाटोमा । थकाईको खासै महशुस हुँदैन । चारैतिर हिमालले घेरिएको छ । हरियो वनजंगलले घेरिएको छ । बाघखोरमा पुगेपछि दोलखाको अधिकांश भूभाग देख्न पाईन्छ । हिमाललाई नजिकैबाट देख्न पाईन्छ । अहिले अप्ठेरो ठाउँमा सिंढीको व्यवस्था छ । पैदलमार्गीहरुको लागि यो बाटो उपयुक्त मानिन्छ । जत्ति उकालो चढ्यो उत्ति चढौ चढौ लाग्छ । ४ घण्टाको उकालो कटेपछि सोत्तलीडाँडामा सहजै तरिकाले पुग्न सकिन्छ । यहाँ पुग्दा सबै थकाई मेटिन्छ । यहाँबाट गौरीशंकर हिमाललाई हातैले छोएको भान हुन्छ । आँखैमा टाँसिन्छ हिमाल । गौरीशंकर हिमालको पिढीमा पुगेको लाग्छ । न तिर्खा, न भोकनै लाग्छ यहाँको दृश्यअवलोकनपछि । यहाँबाट नजिकै देखिन्छ चेर्दुङ, कालिञ्चोकलगायत प्रमुख स्थानहरु । ३३५० मिटर उचाईमा रहेको सोत्तलीडाँडामा देवीको मन्दिर छ । यहाँको दर्शन गर्दा सोचेको पूरा पुग्ने विश्वास रहेको छ । यस सोत्तलीडाँडा इतिहास बोकेको स्थान मानिन्छ । विकासको हिसाबले यस डाँडालाई हिमाल चुम्नेडाँडाको रुपमा लिन सकिन्छ । यही डाँडाको विकास गर्न ३० फिट अग्लो नेपालको झण्डा गाडीएको छ । गौरीशंकर गाउँपालिकाको सबै वडाबाट यस डाँडाको झण्डा सहज तरिकाले देख्न सकिन्छ ।

शब्द / तस्बिर : जीवन लामा 



 






 









 

Comment from facebook

Computer Support House