झ्याँकुको छहारे गुफा र चेर्दुङको यात्रा


गौरीशंकर गाउँपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले धनी देखिन्छ । हिजोको दिनमा दुर्गम क्षेत्र मानिन्थ्यो गौरीशंकर गाउँपालिकालाई । तर अहिले यहाँ रहेका प्राकृतिक र धार्मिक क्षेत्रलाई खोतल्दा निकै धनी मानिन्छ । यस पालिकामा रहेका ९ वटा वडानै कुनै न कुनै हिसाबले अगाडि रहेको छ ।  
 
गौरीशंकर गाउँपालिका वडा नम्बर ४ मा रहेको चेर्दुङ र छहारे गुफाले झ्याँकुलाई निकै महत्वपूर्ण वडा मानिन्छ । सिंगटीबाट सुरी हुँदै झ्याँकुसम्म मोटरबाटोको सुविधा छ । झ्याँकुबाट गोर्पाङ, ज्याङ्बारिङ, घटेपु, देपुङ, गोकर्ण, बासाहुँदै फेदीसम्म पैदलमार्ग छ । चराचुरुङ्गीको चिरबिरे चिरबिरे धुनसँगै उकालो काटेको पत्तै हुँदैन । अहिलेको मौसम रंगीबिरङ्गी फुलहरु फुल्ने समय हो । करिब आधा दर्जन गुराँसले मनै प्रफुल्ल बनाई दिन्छ । चारैतिरको हिमश्रृङ्खलाको सुन्दरताले झन उडुउडु लाग्छ । भोक, प्यास, थकाई मेटाई दिन्छ यी सबै सबै दृश्यले । 
 
यस पटकको यात्राको उदेश्य छहारे गुफाको दर्शन र अवलोकन गर्नु थियो । यस यात्रालाई पूरा गर्नको लागि झ्याँकु वडा नम्बर ४ ले व्यवस्थापन गरेका थिए । वडा अध्यक्ष प्रलाद कार्की, स्थानीय व्यक्तिहरु निमा लामा, कुमार खड्का, माधव खत्री, बुलेन्द्र कार्की, धोजे शेर्पा लगायतले साथ दिएका थिए । घटेपुबाट करिब २ घण्टाको यात्रापछि फेदीमा खाना खान पुगिन्छ । स्थानीय उत्पादन, रातो च्याउ, ढिडो, आलुको तरकारीको स्वादले पेट भरेको पत्तै हुँदैन । पेट अघाए पनि आँखा अघाउदैन । फेदी छुट्टै सुन्दरता भरिएको ठाउँ हो । यहाँबाट दोलखाको उच्च भूभागहरु सबै देखिन्छ । हनुमन्तेडाँडा, चरिकोट, कालिञ्चोक, विगु, गौरीशंकर हिमाल, चेर्दुङ लगायत सबै एकै थलोबाट नियाल्न सकिन्छ । 
 
बिहानको खाना फेदीमा भएपछि केही समय उकालो लागेपछि दोलाङ्सा पुगिन्छ । दोलाङ्सामा पानी पिएपछि तेर्सै छहारे गुफातर्फ यात्रा अगाडि बढ्छ । चौरीको हुलबाट बाटो लिननै गाह्रो हुन्छ । वनैभरि चौरी चरेको हुन्छ । दोलाङ्साबाट १ घण्टा हिडेपछि एकान्त भीरको फेदमा छहारे गुफाको दर्शन गर्न पाईन्छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छहारे गुफाको बारेमा विभिन्न किवदन्तीहरु सुनिन्छ । ३२ सय मिटर उचाईमा रहेको र सयौ वर्षअगाडि फेदीमा रहेको चौरी, भेडा गोठालेहरु रातिसम्म पनि भेडा गोठमा नआएपछि खोज्दै जाँदा यस गुफाभित्र रहेकाले पत्ता लगाएको हो भनिन्छ । गुफा धार्मिक हिसाबले पनि हेर्न सकिन्छ । यी गुफा कि त बौद्ध धर्मलम्बीहरुको हुनुपर्छ कि त हिन्दुहरुको । यस भित्र कुँदिएका मूर्तिहरु, कलाहरु फरक फरक खालका छन् । ठूलो ढुंगाभित्र कुँदिएका कलाहरु परापूर्वकालकै मानिन्छ । बाहिरबाट हेर्दा सामान्य लागे तापनि भित्रको सुन्दरता फरक छ । यहाँ केही समय बिताएपछि उकालो हुँदै चेर्दुङ पुगिन्छ । पानी ढलोको हिसाबले चेर्दुङ ७० प्रतिशतभन्दा बढी झ्याँकुको पर्छ । ३७ सय मिटर उचाईमा रहेको यस चेर्दुङ अरु पालिका, वडाहरुले जत्ति कराए पनि चेर्दुङ झ्याँकुले विकास गर्न र यसको प्रचारप्रचार गर्न आवश्यक छ । 
शब्द / तस्बिरः जीवन लामा 











 
 
 
 

Comment from facebook

Computer Support House