जिरीमा भिजिट २०२० को पूर्व सन्ध्यामा स्ट्रिट फुड फेस्टिभल – २०७६ आयोजना हुने


दोलखाको पर्यटकीय केन्द्र जिरीमा भिजिट २०२० को पूर्व सन्ध्यामा स्ट्रिट फुड फेस्टिभल – २०७६ आयोजना हुने भएको छ । कार्तिक १, २ र ३ गते आयोजना हुने स्ट्रिट फुड फेस्टिभल – २०७६ मा सांस्कृतिक प्रर्दशनि, स्थानिय परिकार बिक्रि, प्रमुख पर्यटकीय गन्तव्यको भिजिट जस्ता कार्यक्रम आयोजना हुने छ ।


विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोहि सर एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पा जिरीहुदै सगरमाथा पुगेकोले सन् १९५३ देखि जिरीलाई सगरमाथाको प्रवेशद्वार समेत भनिन थालेको छ । युवा सञ्जाल जिरीले आयोजना गर्न लागेको स्ट्रिट फुड फेस्टिभल – २०७६ लाई जिरी नगरपालिका, गौरीशङ्कर संरक्षण क्षेत्र, नेपाल पर्यटन र्वोड लगायतको सहयोग रहने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताउनु भयो ।


स्ट्रिट फुड फेस्टिभल – २०७६ को अवसरमा जिरी आउने पर्यटकहरुले जिरी भित्रका पर्यटकीय गन्तव्यहरु जिरेश्वर मन्दिर, हलेश्वर मन्दिर, ढुगेश्वरी मन्दिर, पाँचपोखरी, जटापोखरी, राम्बोले देबी, जिरी वजार, ठुलोनागी, हनुमन्ते ,सिक्री गाँउ, लावती झरना,चेर्दुग डाडा, चेर्दुग चिज उत्पादन केन्द,्र चेन्चो डाडा, बुद्धपार्क, कालोभिर, जिरी चियावगान, रमिते डाँडा आदि ठाँउमा घुम्न सक्ने युवा सञ्जाल जिरीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।


स्ट्रिट फुड फेस्टिभल – २०७६ मा जिरी पुग्ने पर्यटकले चिज, छुर्पि, चिया, आलु, किवी, ट्राउट माछा जस्ता स्थानिय उत्पादनको स्वाद समेत लिन सक्ने सञ्जालका अध्यक्ष खड्का बताउनु हुन्छ । स्ट्रिट फुड फेस्टिभलको अवधिमा मौलिक स्थानिय कला संस्कृति प्रर्दशनी, सांगितिक कार्यक्रम, खेलकुद प्रतियोगिता र विविध मौलिक तथा अन्य खाद्य परिकारहरु खुला सडकमा नै प्रर्दशन गरिने आयोजकको भनाई छ ।


स्ट्रिट फुड फेस्टिभल – २०७६ मा झण्डै ५ हजार स्वदेशी तथा विदेशी पर्यटक सहभागि हुने र १० लाख भन्दा बढीको स्थानिय उत्पादनको कारोवार हुने अनुमान गरिएको आयोजक युवा सञ्जाल जिरीले जनाएको छ ।

 

Comment from facebook

Computer Support House