बाह्रै महिना सुन्दर देखिन्छ कुरी कालिञ्चोक - फोटो फिचर


जीवन लामा/ दोलखा
कालिञ्चोक नपुगेका सायद थोरै होलान । कालिञ्चोकको नामै नसुनेका त झन् कमै होलान । हिउँ पर्ने मौसममा युवाहरुको पहिलो गन्तव्य बन्ने गर्दछ कालिञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका अन्तरगत अवस्थित कालिञ्चोक भगवती मन्दिर र कुरी बजारले धेरैको मन लोभ्याउने गर्दछ । काठमाडौबाट १३३ किलोमिटर मा चरिकोट र चरिकोटबाट १७ किलोमिटर मोटर बाटो हुँदै सजिलै पुग्न सकिन्छ कुरी कालिञ्चोक । म चरिकोटमै बसेर पत्रकारिता गर्ने भए तापनि हिउँदमा कालिञ्चोक जाँदा प्राकृतिक सुन्दर देखिन्छ भन्ने बुझाई थियो । तर, केही पटक भयो वर्षायाममा जान थालेको । आकाश खुल्दा होस या नखुल्दा हरियो रंगले मन त्यसै त्यसै बहकिन्छ । एकै ठाउँबाट घण्टौसम्म हेरिरहौं लाग्छ । हुन त साउन हरियो महिनाको रुपमा लिइन्छ । कालिञ्चोक पुग्दा वन जंगलनै हरियो, बाटोघाटो नै हरियो, भीरपाखा सबै हरियो । अनि ठूला ठूला चौरहरु झनैं हरियो । 
 
अहिलेको मौसममा हरियो मात्र होईन, रंगचंङ्गी फूलहरुको सुन्दरताले जोकोहीको मन नलोभिने कुरै भएन । एकै थलोमा थरि थरिका फूलहरु फुलेका छन् । लाखौं पर्ने गलैचा भनौ या गार्डेन । प्रकृतिले दिएको वरदानको रुपमा लिन सकिन्छ यी सबै । वर्षायाममा कालिञ्चोकको प्राकृतिक सुन्दरताको अनुभव लिनकै लागि पनि बागमती प्रदेश सभाका सांसद भरत बहादुर केसी, पत्रकार चिरञ्जीवी मास्के र होटल व्यवसायी हरि ओली पुगेका छन् । हिउँमा जस्तो सुन्दर प्राकृतिक सन्दरता हुँदैन होला भनी ठानेका उनीहरुले रंगीचङ्गी फूलहरु र हरियो वातावरणले मनै लोभ्याएर होला घण्टौसम्म नियाली रहेका थिए । 
 
कालिञ्चोकमा रंगीचङ्गी फूलहरु र हरियो वातावरण मात्र होइन । अहिले चौरी, याकको चरण क्षेत्र अनि गोठ राख्ने समय पनि अहिले नै हो । चौरी, याक हेर्न जानेको आन्तरिक पर्यटक पनि त्यत्तिकै भेटिन्छ अहिले । चौरीको ताजा दूध, छुर्पी, घ्यू, सेरगेमको लागि पनि यो मौसम उत्तम मानिन्छ । अचार र औषधिको रुपमा प्रयोग गरिने पदमचाल पाईने मौसम पनि यही हो । तसर्थ विभिन्न जडिबुटी, फूलहरुको अध्ययन अनुसन्धानको रुपमा लिन सकिन्छ कालिञ्चोक क्षेत्रमा अहिलेको वर्षायाममा । 










Comment from facebook

Computer Support House